काठमाडौं । पहिलो खेलमा आयोजक बंगलोदशसँग रोकिएको नेपाली यु-१९ महिला फुटबल टोलीले साफ च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार श्रीलंकाको सामना गर्दै छ । तुलनात्मक रूपमा नेपालभन्दा कमजोर मानिएको श्रीलंकासँग नेपालले दिउँसो पौने ३ बजे ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको नेपाल पहिलो जितको खोजीमा छ । नेपाल सुरुवाती खेलमा आयोजक बंगलोदशसँग गोलरहित बराबरीमा रोकिँदा एक अंक जोडेको थियो । श्रीलंकाविरुद्ध खेल्दा नेपाल स्पष्ट तीन अंकको खोजीमा हुनेछ ।
६ राष्ट्रिय खेलाडी सम्मिलित नेपाल श्रीलंकाविरुद्ध पूर्ण रुपमा हाबी हुने अनुमान लगाउन सकिँन्छ । नेपाल जितसहित आफ्नो उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ । यता, श्रीलंकासमेत प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । तेस्रो खेल खेल्दै गर्दा उसले यसअघिका दुबै खेल क्रमशः भुटान र भारतलाई ५-० अन्तरले सुम्पिएको थियो ।
पाँच टोली सहभागी प्रतियोगितामा श्रीलंका पुछारमा रहेको छ । बुधबारको हारले श्रीलंका एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिनेछ ।
प्रतियोगितामा चार खेलबाट आयोजक बंगलादेश चार अंकसहित शीर्षस्थानमा छ । एक खेलबाट भारत तीन अंकसहित दोस्रो स्थानम छ भने भुटान दुई खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ । नेपाल एक खेलबाट एक अंकका साथ चौथो स्थानमा रहँदा श्रीलंका पुछारमा छ ।
गतवर्ष कोरोना महामारीका कारण प्रतियोगिता निर्धारित समयमा नहुँदा आयोजक दक्षिण एसियाली खेलकुद महासंघले यु-१८ साफलाई यु-१९ को रूपमा आयोजना गरेको हो ।
नेपालले यसपछिका दुई खेलमा भुटान र भारतसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति:
बुधबार, मंसिर २९, २०७८, १२:१०:००