झापा, २५ भदौ
झापामै चलेको पर्यटकीय स्थल हो, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र । कनकाई नगरपालिका १ र २ मा रहेको यो पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत छ । यहाँ आन्तरिक पर्यटकको रूपमा झापासँगै, मोरङ, सुनसरी र पहाडी जिल्ला इलाम पाँचथरबाट आउँछन् । आकर्षकको रूपमा सिमसार क्षेत्रमा नाउ, बाल उद्यान, पार्क, खुला व्यायमशाला र वन्यजन्तु अवलोकन केन्द्र छ ।
यहाँ दुई दर्जन बढी प्रजातिका वन्यजन्तु रहेको जामुनबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्यामराज सिटौलाले जानकारी दिए । विगतमा यहाँ दैनिक एक हजारले आन्तरिक पर्यटक अवलोकन गर्थे । वाार्षिक दुई करोड रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । यो सिमसारले सामुदायिक विकास निर्माणका क्षेत्रमा पनि काम गर्ने गरेको थियो ।
तर, कोरोना महामारीका कारण पटक-पटक निषेधाज्ञा हुँदा सिमसार क्षेत्र थलिएको छ । कोरोना महामारीले पर्यटकीय क्षेत्र बन्द भए पनि प्रशासनिक खर्च र वन्यजन्तुको स्याहारसुसार खर्च घटेको छैन । ‘महामारीले त हामीलाई ऋणमा डुबाएको छ । ऋणबाट प्रत्येक दिन वन्यजन्तुलाई पोषण खुवाउँछन् । अत्याधिक धेरै पोषण लाग्छ । पहिलो चरणको महामारी सकिएर बल्ल खलेको थियो । त्यो बेला राम्रै भएको पनि थियो,’ सिटौला भन्छन्, ‘ तर, फेरि महामारीले निषेधाज्ञा सुरू भयो । फेरि ऋणमा डुब्यौँ ।’
कोरोना कहर विस्तारै साम्य भएसँगै जामुनखाडी पर्यटकीय स्थल खुलेको छ । करिब १५ दिनदेखि आन्तरिक पर्यटकका लागि सिमसार खुला गरिएको उनले बताए । ‘खुला त गर्यौँ । तर, मान्छे नै कम छन्,’ उनले भने, ‘पहिला एक हजारसम्म दैनिक मान्छे हुन्थे । अहिले दुई सय पनि पुग्न मुस्कि छ ।’
जामुनखाडी मात्र हैन कोरोना संक्रमण दर घट्न थालेपछि झापाका अन्य पर्यटन क्षेत्रहरू खुल्न थालेका छन् । झण्डै ५ महिनाको बन्द पछि खुल्न थालेका झापाका सिमसार तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल भने सामान्य छ ।
कोरोना कहरले भएको बन्दका कारण जिल्लाका दर्जन बढी पर्यटकीय क्षेत्रमा झार जंगलले छोपेको छ । पर्यटकीय क्षेत्र दोमुख, कालिका, बाँसबारी, जामुनबारीलगायतका पर्यटकीय क्षेत्रहरू खुल्न थालेका हुन् । लामो समयको बन्दले घर भित्र बसेका मानिसहरू मनोरञ्जनका लागि निस्कन थालेका छन् । तर, पर्यटकीयस्थलमा सोचेअनुरूप आन्तरिक पर्यटक नआउँदा ऋण तिर्न समस्या भएको मेचीनगर-११ मा रहेको पर्यटकीय बाँसबारी सामुदायिक वनका अध्यक्ष तक्दिर प्रसाईंले बताए ।
‘बन्द भएको दुई वर्ष हुन लागिसक्यो । यहाँको व्यवस्थापन गर्दा ऋण लागेको छ,’ उनी भन्छन्, ‘पहिला त सिलिगुढीसम्मका पर्यटक आउँथे । बन्दले खासै मान्छे आउँदैनन् । त्यसकारण ऋण तिर्न पनि समस्या हुने देखिएको छ ।’