- बबिता बस्नेत
‘कम्फरटेबल’ अङ्ग्रेजीको यो शब्द अहिले नेपाली राजनीति, मिडिया, सामाजिक सञ्जाल जताततै निकै चर्चित छ । जसको अर्थ हुन्छ- सहज अर्थात् सजिलो । तात्कालिन नेकपाका नेता प्रचण्डले आफूहरूको सरकार बने भारतलाई ‘कम्फरटेबल’ हुने भनी दिनुभएको अभिब्यक्तिपछि यो शब्द चर्चामा आएको हो । ‘कम्फरटेबल’ शब्द चर्चित बनिरहँदा उहाँहरूको यात्रा भने बडो ‘अनकम्फरटेबल’ अवस्थामा पुगेको छ । विगत तीन वर्षदेखि अस्वाभाविक झैँ लाग्ने यात्रामा नेकपा एमाले र एमाओवादी सँगै हिँडिरहेको थियो । पार्टीको नाममा ‘कम्युनिष्ट’ शब्द जोडिए पनि यी दुईबीच नमिलेका कुराहरू धेरै थिए । पार्टीको एकता भए पनि एकार्काप्रतिको आत्मियता र विश्वासमा दूरी कायम नै थियो । समूहमा हुँदा एमाओवादीसम्बद्ध नेता, कार्यकर्ताहरू एकातिर एमालेका अर्कोतिर हुने गर्थे । सांसददेखि स्थानीय जनप्रतिनिधि हुँदै सर्वसाधारणसम्ममा यस्तै देखिन्थ्यो ।
शुरुमा मिलेजस्तो देखिएका ‘शीर्षस्थ’ नेताहरूबीचमै दरार आएपछि नेकपा एमाले र एमाओवादीहरू सम्बन्ध बिच्छेद हुन ठिक्क परेका तर प्राविधिक कारणले नभएका पति–पत्नी जस्तै गरी समय गुजारिरहेका थिए । एकर्कामा आरोप-प्रत्यारोप मात्र भन्न नमिल्ने गरी अभिब्यक्ति आउन थालेकै एक वर्ष भन्दा बढी भइसकेको थियो । एमाओवादी र एमाले मात्रै नभएर यो एक वर्षको बीचमा गठबन्धनले फरक रूप लिएको थियो । प्रधानमन्त्री केपी ओली र नेता प्रचण्डको अलग-अलग गुट बनेपछि माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू प्रचण्डनजिक बनेका थिए भने रामबहादुर थापा बादललगायतका केही नेताले ओलीलाई साथ दिएका थिए । जुन साथहरू यति नै समय टिक्छ भनी अन्दाज गर्न सक्ने प्रकारका थिएनन् । स्वार्थका साथहरू कुनै पनि बेला टुट्न सक्थे जसलाई समयक्रममा विधिविधानले नै टुटाइदिएको छ ।
हिजो आफूले त्यतिका गाली गरेको मानिसलाई कसरी नेता मान्ने ? कतिपय नैतिक सवालहरू यस्ता हुन्छन् जसको कानूनसँग कुनै सम्बन्ध हुँदैन तर मानिसलाई त्यसले जिन्दगीभर घोचिरहन्छ ।
विगत केही समययता नेताहरूले एकर्काको विरुद्धमा खुब बोले । यसरी बोले कि मानौँ एकर्कामा यो जुनीमा अब कहिल्यै पनि जम्काभेट हुँदैन ! संसद् विघटन हुनुअघि नै पनि कतिपय नेताहरूको बोलीमा कुनै संवेदनशीलता या संहिता लागु भएको थिएन । संसद् विघटन भएपछिको अवस्थामा त झन् मुख भनेको बोल्नकै लागि त हो झैँ गरी एकर्कालाई हिलो छ्यापियो । भाषणमा अपशब्दहरू प्रयोग भए । एकर्कालाई घाइते बनाउने गरी शब्दहरू प्रहार गरियो । सडक, पार्टी प्यालेस, चौर जहाँ-जहाँ सभाहरू भए ती समारोहमा एकर्कालाई राम्रा शब्द कसैले पनि प्रयोग गरेनन् । सुन्नै अप्ठ्यारो लाग्ने नारामार्फत जुलुसका सहभागीहरूले आफ्नै दलका नेता र उच्च तहका ब्यक्तित्वहरूको बस्त्र उतारे । अरुलाई नाङ्गो बनाउँदा आफ्नो लाज छोपिने ठम्याइबाट जमात अघि बढिरहेकै बेला नसोचेको परिणाम आयो । सर्वोच्च अदालतको एउटा फैसलाले संसद् पुनःस्थापना गरिदियो, अर्कोले पार्टीको आधिकारिकता अरुकै भएको निर्णय दियो । पुनर्मुषिको भवः भन्ने कथा चरितार्थ भए झैँ गरी अन्ततः तीन वर्षअघि यी दुई राजनीतिक दल र नेताहरू जहाँ थिए त्यहीँ पुगे ।
नेकपा एमाले र एमाआवादीका नेताहरू कानूनी रूपमा पुरानै ठाउँमा पुगे पनि उनीहरूबीच बढेको मनको दूरी पुरानो अवस्थामा फर्कन सहज हुने प्रकारको देखिँदैन । हुन त राजनीतिमा जे पनि हुन्छ भनेर हिजो तथानाम गाली गर्नेहरूले तिनैलाई भोली ‘महान् कमरेड’ भनी सम्बोधन गर्न पनि सक्छन् । तर यो घटनाले मानिसले आफूले प्रयोग गर्ने शब्द र बोलीमा ख्याल गरिएन भने त्यसको परिणाम अरुले नभई आफैले भोग्नुपर्छ भन्ने कुराको पाठ सिकाएको छ । हिजो आफूले त्यतिका गाली गरेको मानिसलाई कसरी नेता मान्ने ? कतिपय नैतिक सवालहरू यस्ता हुन्छन् जसको कानूनसँग कुनै सम्बन्ध हुँदैन तर मानिसलाई त्यसले जिन्दगीभर घोचिरहन्छ ।
सुन्नै अप्ठ्यारो लाग्ने नारामार्फत जुलुसका सहभागीहरूले आफ्नै दलका नेता र उच्च तहका ब्यक्तित्वहरूको बस्त्र उतारे । अरुलाई नाङ्गो बनाउँदा आफ्नो लाज छोपिने ठम्याइबाट जमात अघि बढिरहेकै बेला नसोचेको परिणाम आयो ।
कहिलेकाँही मानिस दौडिन्छन् तर कहीँ पुग्दैनन्, घुमिफिरि जहाँ थिए त्यहीँ पुग्छन् । तर ठाउँ त्यही भए पनि त्यस बीचमा आएका आरोह-अवरोहहरूले उनीहरूलाई पहिलाकै जस्तो स्थान भने दिँदैन । अहिले दुई दलका उपल्ला, मझौला सबै नेताहरूका लागि यात्रा त्यति सहज हुँदैन जसले यसबीचमा तिक्तता पोख्ने बहानामा बोल्नु-नबोल्नु बोले । बोली र गोली फर्कंदैन भन्ने हाम्रो पुरानो भनाइ छ । पहिला-पहिला भए कुनै बेला यसले मलाई यतिसम्म भनेको थियो भन्ने भए पनि बिस्तारै मानिसले बिर्संदै जान्थे तर हिजोआज त बिर्सन लागे पनि प्रविधिले फुत्त आँखाअगाडि ल्याइहाल्छ । अहिले उनीहरूले बोलेका सबै कुराहरू रेकर्डेड छन् । कुनै पनि बेला ती भाइरल भएर आइदिन्छन् ।
मानिस आफ्नो सत्रु र मित्र आफै हो । भगवान गौतम बुद्धदेखि ओशो, सदगुरु सबैले यसै भनेका छन् । आफूले बोल्दा कस्तो शब्द प्रयोग गरिरहेको छु भन्ने कुराले हरेक मानिसको जीवनमा अर्थ राख्छ । सार्वजनिक जीवनमा रहेका मानिसले बोल्ने बेलामा थप ख्याल गर्नुपर्ने हुन्छ । लेख्दा, बोल्दा गरिने शब्दका प्रयोग मानिसको ‘एटिच्युड’ चिन्ने प्रमुख आधार पनि हुन् । सम्बन्धित मान्छेले कस्तो सोच राख्छ भन्ने कुरा उसले प्रयोग गर्ने शब्दबाट सहजै अन्दाज गर्न सकिन्छ । यसबीचमा बोलीमा प्रयोग गरेका शब्द र बोल्ने शैलीबाट धेरैले नेताहरूको परिचय पाएका छन् । ‘पब्लिक’मा त एक प्रकारको छवी गयो नै, पार्टीभित्र आफैले बोलेका ती अपशब्दहरूले कहिलेसम्म बिझाउने हो यसै भन्न सक्ने अवस्था छैन ।
‘एक्लै हुँदा तिम्रा सोचाइहरूको ख्याल गर, मानिसहरूसँग हुँदा तिम्रा शब्दहरूको ख्याल गर । मानिसको मुखबाट निस्किने शब्द डरलाग्दो हतियार हो ।’
यो पङ्क्तिकारले बुझेसम्म केही एमाओवादीका नेता-नेतृहरूलाई एमालेसँगको सहकार्य पहिल्यैदेखि सकसपूर्ण लागेको थियो । तर उनीहरूले सार्वजनिक रूपमा त्यति बोलेको देखिएन । ब्यक्तिगत भेटघाटमा तिक्तता पोखे पनि सार्वजनिक अभिब्यक्तिमा भोली अनुहारै हेर्न नमिल्ने खालको भाव पोखिएन । शब्दहरूको ब्यवस्थापन गर्नै नमिल्ने गरी आफ्नो पुरानो दलका नेताहरूलाई गालीगलौज गर्नेमा एमाओवादीमा भन्दा एमालेमा बढि छन् । एमाओवादी हुन् या एमाले गालीगलौजमा उत्रिएका नेताहरूका लागि अबको यात्रा त्यति ‘कम्फरटेबल’ हुने देखिँदैन । तर माथिल्लो तहका नेता स्वयम् गालीगलौजमा उत्रिएकाले मझौलाहरूले अप्ठ्यारो मान्नुनपर्ने परिस्थिति पनि बन्न सक्छ ।
तात्कालिन नेकपासम्बद्ध नेताहरूबाट यसबीचमा जनताले पाएको सन्देश जसले जहाँ जे बोले पनि हुन्छ भन्ने हो । सभा, समारोहहरू विचार, ज्ञान या जानकारीका लागि नभई गालीका लागि आयोजना गरिन्छन् भन्ने कुरा पनि करिव–करिव स्थापित हुन पुगेको छ । खस्किएका यस्ता मूल्य-मान्यताहरूलाई जगाउन निकै समय लाग्नेछ । अब्दुल कालमले भनेका छन्- ‘एक्लै हुँदा तिम्रा सोचाइहरूको ख्याल गर, मानिसहरूसँग हुँदा तिम्रा शब्दहरूको ख्याल गर । मानिसको मुखबाट निस्किने शब्द डरलाग्दो हतियार हो ।’ लामो समयसम्म यस्तो डरलाग्दो हतियार चलाएपछि अबको यात्रा असहज मात्र होइन त्यत्तिकै जोखिमपूर्ण पनि देखिन्छ ।